चौतारोमा चप्पल सिलाउँदै गाउँपालिका उपाध्यक्ष ":::हातमा लौरी, खाष्टोको घुम्टो ओडेर घरबाट बिहानै निस्कनुहुन्छ .....
बाजुरा, कात्तिक १६
प्रसङ्ग – १
हातमा लौरी, खाष्टोको घुम्टो ओडेर घरबाट बिहानै निस्कनुहुन्छ स्वामिकार्तिक गाउँपालिकाकी उपाध्यक्ष मिमा बुढा । उहाँ कार्यालय पुग्न ६० वर्षको उमेरमा दिनभर हिँड्नु परेको छ ।
२०५४ सालको स्थानीय चुनावमा तत्कालीन साप्पाटा गाउँ विकास समितिका अध्यक्षसमेत रहेका पति नरपाति बुढालाई माओवादीले अपहरण गरेपछि मरेको खबर घरमा आएको थियो ।
आधा वैंशमै लोग्ने गुमाउनुको पीडा असह्य नै थियो । अहिले उहाँ नागरिककै लागि आफ्नो समय खर्चिरहनु भएको छ ।
प्रसङ्ग – २
दक्षिणी क्षेत्रको गैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा छोराछोरी सदरमुकाममा छाडेर नागरिकका योजना बनाउन बस्ती बस्तीमा हिँडेको भेटिन्छ ।
गाउँपालिकाको वडा नम्बर ६ मा पुग्दा उहाँले लगाएको चप्पल चुँडियो । उहाँ आफै सियो धागो लिएर चप्पल सिलाउँदै हुनुहुन्थ्यो ।
हामीलाई देख्दा उहाँले सिलाउँदै गरेको चप्पल लुकाउनु भयो । के लुकाउनु भयो ? भन्ने प्रश्नमा उहाँले लजाउँदै भन्नुभयो ‘चप्पल च्यातियो, यहाँ बुवासँग सियो मागेर सिलाउन लागेको ।
गाउँमा चप्पल पाइँदैन । हिँड्ने राम्रो बाटोसमेत छैन । यही भएर दुर्गमका जनप्रतिनिधिलाई कठीन छ ।’
प्रसङ्ग – ३
हुम्लासँग साँध जोडिएको हिमाली गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला बुढाको पनि दुःख उही छ । ‘अफिसको काम परेको दिन बिहानै हिँडेर जानुपर्छ, खाना खानेसमेत समय हुँदैन ।
समयमा हिँडेन भने गाउँपालिका कार्यालय पुग्नै सकिँदैन’ उहाँले सुनाउनुभयो ।
प्रसङ्ग – ४
हिमाली गाउँपालिका वडा नम्बर १ का लालजित रोकाया दुई दिनको बाटो हिँडेर गाउँपालिकाको बैठकमा सामेल हुने गर्नुभएको छ ।
‘एक बैठकमा जाने हो भने पाँच दिन त केही नभए पनि खर्च हुन्छ, घरको काम गर्नसमेत कठीन छ । हामी दुर्गमका जनपतिनिधि त हिँड्दा हिँड्दै हैरान हुन्छौँ’ उहाँले भन्नुभयो ।
गाडीका कुरा शहरमा मात्रै !
हिजोआज शहरी क्षेत्रका स्थानीय तहका प्रमुख उपप्रमुखको गाडी
खरीदमा होडबाजी चलिरहेका बेला बाजुराका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको दैनिकी यस्तै नै छ ।
बाजुराका नौ वटा स्थानीय तहमध्ये चार वटा नगरपालिका छन् । बडिमालिका, बुढीगंगाको केन्द्रसम्म मात्र सडक सञ्जालले जोडेको छ ।
बाँकी दुई नगरपालिका त्रिवेणी र बुढीनन्दाको केन्द्रसम्म त त्योसमेत छैन । गाउँपालिकाको सडक सञ्जालको कुरो त परै छ ।
बाजुराका स्थानीय तहको पहिलो चुनौतीको रुपमा यहाँको सडक बिस्तार नै रहेको छ । जनप्रतिनिधिलेनै सडक सुविधा उपभोग गर्न नसकेको बेला सामान्य नागरिकले पनि आफ्ना सडकसम्बन्धी माग उठाउन भने सजिलो भएको छ । बिरामी पर्दा सदरमुकामसम्म गाडी चढेर उपचार सेवा मात्र लिन पाए पनि ठूलो राहत हुनेछ ।
Comments
Post a Comment