बेलायतमा नेपाल आइडल ओपनिङ शो उल्लासमय::बिदा हुन खोज्दा दर्शकले सहर्ष बिदाइ गर्नै चाहेनन् बरु....

कार्तिक १८, २०७४-पहिलो ‘नेपाल आइडल’ विजेताहरु शुक्रबार साँझ बेलायतका दर्शकमाझ घेरिए । अल्डरसटस्थित एम्पायर हल खचाखच हुने गरि हाउसफूल भयो ओपनिङ शो । ७ सय दर्शक नाघेपछि सुरक्षागार्डले कयौंलाई गेटबाटै फर्काइदिए ।

धागो ब्याण्डको लाइभ संगीतमा नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र टप ७ प्रमिला राईले करिब तीन घण्टा ननस्टप लोक, आधुनिक पप र

रक गीत गाएर दर्शकलाई भरपुर मनोरन्जन दिलाए । सयौं दर्शकमाझ स्टेजमा उत्रिएका ति नवप्रतिभाहरु दर्शकको न्यायो माया पाएपछि झन् उत्साहित देखिन्थे । भाषण गर्न उति मेसो नपाएका उनीहरुले दर्शककै मायाले आफूहरु यो स्थानमा आएको भन्दै आभार व्यक्त गरिरहेका थिए ।

नेपाल आइडल लामाले मन्त्र ब्याण्डको गोर्खालीको छोरो म..., आहा कलिलो तामालाई..., निरा जहिले रिसाउने, ओइ झुमा झुमा... आदि गीत गाएर दर्शकको वान्स मोर सामना गरिरहे । फस्ट रनर अप निशानले नेपथ्यको झल्काइ देउ झल्काइ देउ..., शिव परियारको पिउंदिन भन्दा भन्दै पिलायो साथीले..., मस्की मस्की हिंडेर जानेले...जस्ता गीत गाएर दर्शक मन जिते ।

त्यस्तै सेकेन्ड रनरअप दासले हेर्दा राम्रो माछापुच्छ्रे...गुंरासै फूल्यो बनैमा, एज ब्याण्डको नचाहेको होइन... लगायत गीत गाए ।

लामा, भट्टराई र दासले जाँदा जाँदै अन्तिम गीत १९७४ एडीको यो मन त मेरो नेपाली हो...गीत गाएर बिदा हुन खोज्दा दर्शकले सहर्ष बिदाइ गर्नै चाहेनन् बरु वान्समोर भनिरहे ।

कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ पनि कार्यक्रममा सहभागी थिए तर यसपटक उनी मेन्टर (प्रशिक्षक) का रुपमा नेपाल आइडल विजेताहरुलाई प्रशिक्षण दिन बेलायत आएका हुन् ।

नेपाल आइडलकै होस्ट सुशील नेपालले सञ्चालन गरेको उक्त शोमा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । राजदूत र आयोजकहरु राजाराम गिरी र ज्ञाम गुरुङले कार्यक्रम संयुक्त रुपमा उद्घाटन गरेका थिए । मन्तव्य व्यक्त गर्दै राजदूत सुवेदीले नवप्रतिभाहरुको उज्ज्वल भविष्यको कामना गरे ।

संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर, पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा कन्सर्ट भएको हो ।

नेपाल आइडल लाइभ शो नोभेम्बर ४ तारिख शनिबार फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुंदैछ । स्कटल्याण्डमा समेत कार्यक्रम तयारी छ ।

Comments