भारतमा भीषण बर्षा र बाढी ::शिक्षण संस्था, निजी कार्यालय लगायतमा विदाको घोषणा

नयाँदिल्ली – भारतको तामिल नाडु राज्यको राजधानी चेन्नई क्षेत्रमा भीषण बर्षा र बाढी आएको छ । गत बिहीबारदेखि सुरु भएको बर्षाका कारण आएको बाढीले गर्दा कतिपय सडकहरुमा यातायात सेवा समेत अवरुद्ध भएको छ ।

धेरै ठाउँमा कार र ‘अटोरिक्सा’ पानीमा उत्रिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।
बर्षा र बाढीका कारण चेन्नई र कान्चीपुरम लगायतका क्षेत्रमा शिक्षण संस्था, निजी कार्यालय लगायतमा विदाको घोषणा गरिएको छ ।

स्थानीय एक सरकारी अधिकारीले भने, “चेन्नई, कान्चीपुरम पुडुकोट्टी, तिरुभाल्लुर, नागाप्पाटिनम र तिरुभारुर लगायतका ठाउँका विद्यालय र कलेजहरु भारी बर्षाका कारण बन्द गरिएका छन् ।” मुसलधारे बर्षाले कैयौं घण्टादेखि विद्युत् सेवामा समेत असर पारिरहेको अधिकारीहरुले बताएका छन् ।

चेन्नईमा रहेको जलवायु तथा मौसम विभागले शनिबार सम्म पनि बर्षा भइरहने पुर्वानुमान गरेको छ ।

अधिकारीहरुले प्रभावित क्षेत्रमा पर्याप्त चासो राख्न र राहत वितरण प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।

Comments