गोलमाल अगेनले आठ दिनमा बनायो अनेकौं कीर्तिमान

काठमाडौं, १२ कात्तिक — अघिल्लो शुक्रवार सार्वजनिक भएको बलिउड फिल्म गोलमाल अगेनले बक्स अफिसमा कीर्तिमान बनाएको छ । गोलमाल सिरिजको यो चौथो फिल्मलाई दर्शकहरूले रुचाएर ब्लकबस्टर बनाइदिएका छन् ।

फिल्मले अनेकौं कीर्तिमान बनाइसकेको छ ।
सन् २०१७ मा भारतमा सबभन्दा बढी कमाइ गर्ने यो दोस्रो हिन्दी फिल्म हो । बाहुबलीको हिन्दी भर्जनले ५०० करोड भारु कमाएकोमा गोलमाल अगेनले अहिलेसम्म १५३ करोड भारु कमाएको छ ।
सबै ठूला फिल्मलाई पछि पार्दै गोलमाल अगेनले यस वर्षको सबभन्दा ठूलो ओपनिङ गरेको छ । पहिलो दिन नै यसले ४८ करोड रुपैयाँ कमाएको थियो ।
गोलमाल अगेन सन् २०१७ मा सबभन्दा छिट्टो १०० करोड कमाउने फिल्म बन्यो । संसारभरिको आँकडाअनुसार, फिल्मले चार दिनमै १०० करोड कटायो ।
यो नै गोलमाल सिरिजको सबभन्दा धेर कमाउने फिल्म बन्न पुग्यो । यसअघिको गोलमाल ३ ले १०६ करोड भारु कमाएको थियो ।
अजय देवगण र रोहित शेट्टीको जोडीले बलिउडमा १०० करोड फिल्महरू थुप्रै बनाएका छन् । गोलमाल २, गोलमाल ३, सिंघम, सिंघम रिटर्न्स, बोल बच्चन र गोलमाल अगेन १०० करोड क्लबमा परेका छन् ।
अब यस वर्ष धेर कमाउने आशा गरिएका फिल्म 'पद्मावती' र 'टाइगर जिन्दा है' हुन् ।
एजेन्सी

Comments