कुख्यात आतंकवादी समूह आइएसले यस्तो ‘क्रूर तस्बिर’ सार्वजनिक गर्दै दियो मेस्सी र नेमारलाई ज्यान मार्ने धम्की..

एजेन्सी, कात्तिक १३
कुख्यात आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) ले विश्व फुटबलका स्टार खेलाडी नेइमार र लिओनल मेस्सीलाई ज्यान मार्ने धम्की दिएको छ । सामाजिक सन्जाल ट्वीटरमार्फत् एक तस्बिर सार्वजनिक गर्दै आइएसले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर मेस्सी र ब्राजिल तथा पिएसजीका स्ट्राइकर नेमारलाई ज्यान मार्ने धम्की दिएको हो ।

फोटोसपबाट बनाइएको तस्बिरमा एक आतंकवादीले नेमारको घाँटी समातेको देख्न सकिन्छ भने घुँडा टेकेका नेमार रोइरहेको अवस्थामा देखिन्छन् ।

त्यसैगरी, मेस्सी भुइँमा लडिरहेको अवस्थामा छन् । उक्त तस्बिरमा मेस्सीलाई मारिएको देखाइएको छ । उनको छेउमै इस्लामिक स्टेटको झन्डा गाडिएको तस्बिरमा देख्न सकिन्छ ।



उक्त तस्बिर प्रो–आइएसआइएस ट्वीटर समूहबाट सार्वजनिक भएको हो । उक्त तस्बिरलाई इरानी समाचार संस्था वाइजीसीले ‘आइएसले विश्वकप २०१८ लक्षित गर्दै मेस्सी र नेमारलाई दिएको धम्कीसहितको तस्बिर’ शीर्षक दिएर सेयर गरेको छ ।

आइएसको मुखपत्र वाफा मिडियाले केही दिनपहिले मात्रै यस्तै एउटा तस्बिर पनि सार्वजनिक गरेको थियो । । उक्त तस्बिरमा मेस्सीलाई जेलमा थुनिएको देखाइएको थियो भने उनको आँखाबाट खुन बगिरहेको थियो ।



आइएसले यस्तो तस्बिर सार्वजनिक गरेलगत्तै अर्जेन्टिना फुटबल संघका प्रमुख क्लाउडियाले रसियाका राजदूत भिक्टोर कोरोनिलीसँग भेटवार्ता गरी मेस्सीलगायत फुटबल खेलाडीको सुरक्षाबारे गम्भीर छलफल गरेको समाचार आएको थियो ।

लगातार यस्ता तस्बिर सार्वजनिक हुन थालेपछि अर्को वर्ष रुसमा हुने विश्वकपको सुरक्षालाई लिएर चासो र चिन्ता बढेको छ ।

Comments