९० घण्टा लामो लगातार टक–शो गर्ने नेपालका कान्छो पत्रकार सुजन आचार्यको घोषणा

काठमाडौं, १६ कार्तिक । नेपालका कान्छो पत्रकार सुजन आचार्यले अहिलेसम्मकै सबैभन्दा लामो रवि लामिछानेको नाममा रहेको ‘लंगेष्ट टक शो अन टेलिभिजन’ रेकर्ड तोड्ने घोषणा गरेका छन् ।


लामिछानेले सन् २०१३ को अप्रिलमा विश्व ईतिहाँसकै सबैभन्दा लामो टिभी टक–शो आयोजना गरेर वल्र्ड रेकर्ड कायम गरेका थिए । उनले नेपालको न्यूज टेलिभिजनमार्फत टक–शो चलाएका थिए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आचार्यले आफूले लामिछानेको नाममा रहेको उक्त रेकर्ड तोड्ने घोषणा गरेका हुन् । आचार्यले आउने वर्ष सन् २०१८ को अप्रिल १४ देखि १७ सम्म टक शो आयोजना गर्ने जनाए । उनी ‘अन एयर’मा लगातार ९० घण्टा सम्म बस्नेछन् । जबकी लामिछानेको नाममा ६२ घण्टाको रेकर्ड छ ।


यद्धपी उनले कुन टेलिभिजन च्यानलबाट टक शो चलाउने भन्नेबारे अहिले नै कुनै निधो नभईसकेको जनाए । तर यसबारेमा अहिलेदेखि नै विशेष कुराकानी भैरहेको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै युवा पत्रकार आचार्यले भने,‘‘हामीले उक्त टक–शो आयोजना गर्नको लागि सम्पूर्ण तयारी गरिसकेका छौं, अहिले हामीले विभिन्न टिभी च्यानलहरुसँग कुरा गरिरहेका छौं, च्यानल पनि हामी चाँडै टुँगो लगाउँछौं।’

 उक्त टक–शोमा आचार्यले विभिन्न राजनीतिक दलका नेताहरुसँग, पत्रकार, विज्ञ तथा सेलिब्रेटीहरुसँग कुरा गर्नेछन् । उनले ‘द वल्र्ड विल नो मुक्तिनाथ’ भन्ने थिमा उनले बोल्ने तयारी गरेका छन् ।

उनले अघि थपे,‘टक–शो को प्रमुख उद्देश्य भनेको नै नेपालको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथलाई संसारभरि नै चिनाउनको लागि हो ।’ आचार्य जो आफू पनि सबैभन्दा कान्छो टेलिभिजन होस्टर हुन् । उनले ११ वर्षको उमेरमा टेलिभिजन कार्यक्रम सञ्चालन गरेका थिए । उनले एबीसी टेलिभिजनमा ‘नेपाल दर्शन’ र ‘मिशन न्यूज’ नामक कार्यक्रम सञ्चालन गरेका थिए ।

आचार्यका अनुसार उनले नेपालका प्रधानमन्त्रीलाई समेत अप्रुभल लेटर पठाईसकेको जनाए । उनले थपे,‘अब हामी प्रधानमन्त्री कार्यालयको रेष्पोण्डको प्रतिक्षामा छौं, म निकै खुशी र उत्साहित छु, यस्तो महत्वपूर्ण काम गर्न गैरहेको छु, मलाई विश्वास छ, सबैले मलाई सहयोग गर्नुहुनेछ।’


कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आचार्यको साहस र आँटको प्रशंसा गर्दै कार्यक्रमलाई सफल बनाउन र उद्देश्य प्राप्तिको लागि शुभकामना दिए ।



आफूले तत्कालिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको अन्र्तवार्ता लिएको स्मरण गर्दै धमलाले थपे,‘मैले उहाँको अन्र्तवार्ता गर्दा म जम्मा १५ वर्षको मात्रै थिएँ, त्यतिवेला किसुनजी निकै खुशी हुनुहुन्थ्यो।’

धमलाले अहिले जोश र जाँगरले भरिपुर्ण र टक–शोको कलात्मक क्षमता भएका आचार्यजस्तो युवाले ९० घण्टाको लगातारको टक–शो सञ्चालन गर्न गैरहेकोप्रति खुशी व्यक्त गर्दै भने,‘हेर्नुहोस, लगातार ९० घण्टाको टक–शो चलाउनु सामान्य कुरा होईन, तर उहाँले जुन किसिमको हिम्मत र साहस गर्नुभएको छ, यसमा हामी सबैले उहाँप्रति शुभेच्छा र सफलताको लागि शुभकामना दिनैपर्छ।’



उनले आचार्यको प्रतिज्ञा र उद्देश्य सानो नभएको भन्दै यसले सिँगो नेपाली पत्रकारिताको समेत गर्वको विषय भएको भन्दै शुभकामना दिए ।


त्यस्तै निर्माती एवम् ‘अनुराग’ नामक नेपाली चलचित्रमा आवद्ध नायिका एलिजा गौतमले आचार्यले पत्रकारितामार्फत धेरै राम्रो काम गरेको भन्दै अहिले घोषणा गरेको कार्यक्रमपनि सफल होस् भन्दै शुभकामना दिएकी छिन् ।

उनले भनिन्,‘सुजन भाईले सबैभन्दा कान्छो पत्रकारको रेकर्ड बनाउनुभएको छ, उहाँ सानो उमेरमा नै यत्रो च्यालेन्ज स्विकार गरेर अघि बढ्नभएको छ, मेरो उहाँलाई शुभकामना छ।’
समाचार

Comments