नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्राचार गरिसकेका छौं,’ अधिकारीले भने, ‘उसको स्वीकृतिपछि व्यवसायी सुरुवात गर्न बाटो खुल्ने छ ।’
नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनु पर्नेछ । यही स्वीकृतिका लागि टेलिकमले पत्राचार गरेको हो । रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रि–रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कात्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल(सिटिजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुल मार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने विषयमा गत वर्ष मंसिरमा सम्झौता भएको थियो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने टेलिकमले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय अन्तरआबद्धताका लागि यो अर्को महत्वपूर्ण र समानान्तर विकल्प हुनेछ ।
यसअघि नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएको थियो । अब चिनियाँ बाटोबाट समेत नेपाल अन्तर्राष्ट्रिय इन्टरनेटमा आवद्ध हुनेछ । भारतबाहेक चीनतिरको वैकल्पिक रुट थप भएपछि यसबाट टेलिकमले लाभ लिन सक्ने विश्वास लिइएको छ । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।
चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गर्दै नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । भारतबाहेकको वैकल्पिक रुट खोलिएपछि मुलुकमा उपलब्ध हुने इन्टरनेटको गुणस्तर र मूल्यमा समेत ग्राहकलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
Comments
Post a Comment