संसारकै होचो कलाकारमा गिनिज वर्ल्ड रेकर्डमा दीपेनको दाबी

काठमाडौं : गिनिज वल्र्ड रेकर्डमा संसारकै होचो कलाकारका रूपमा नेपाली कलाकार दीपेन शाहले दाबी गरेका छन् । केही समयअघि निर्माण भएको होचापुड्का कलाकारहरू अभिनीत चलचित्र सारथिमार्फत अभिनय यात्रामा लागेका दीपेन हास्य टेलिचलचित्र छेउ न टुप्पो तथा झ्याइँकुटी झ्याइँमार्फत दर्शकको मनमा बसेका थिए ।
यी टेलिचलचित्रमा समाज सुधारकको भूमिकामा देखिएपछि उनलाई उद्योगमा ‘दीपेन सर’ का नामले चिनिन्छ । ‘सारथिमा होचा कलाकारको खोजी भइरहेको छ भन्ने सुनेर खोज्दै पुगेको थिएँ, निर्देशकले पनि मन पराउनुभयो अनि कलाकार बनेँ’, आफ्नो अनुभव सुनाउँदै दीपेनले भने । सानैदेखि हिरो बन्ने सपना पालेका उनी अभिनय यात्रामा आफूले पाएको सफलताबाट उत्साहित छन् । ‘एक दिन हिरो बनेर देखाउँछु, हिरोइनसँग गीत गाउँछु, नाच्छु पनि’, सुटबुट र कालो टोपीमा ठाँटिएका उनले भने।

 200x200 
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिकामा जन्मेका दीपेश अहिले १९ वर्षका भए । ‘जन्मँदा दुई पाउको थियो । हत्केलामा अटाउने’, बाबु दीपक शाहले भने, खाने, रुने सामान्य नै भए पनि साह्रै थोरै तौलको थियो । पछि निकै बिरामी पर्न थालेपछि हामी परिवार नै काठमाडौं सर्‍यौं । मेरो जागिर पनि यतै भएपछि उसको उपचारतिर लागियो । केही वर्षपछि उसको स्वास्थ्य सामान्य बन्दै गए पनि उचाइ भने बढेन ।’ ‘हामीले खाने ठूलो एक गाँस भात जति उसको आहारा छ । एउटा बल्ल खाइसक्छ’, छोराको खानपिनबारे उनले भने ।
सुरुमा उनकी आमा धनकुमारी छोराको उचाइले निकै चिन्तित थिइन् । कलाकारितामा लागेर नाम कमाउन थालेपछि भने उनको चिन्ता केही कम भएको छ । उनका दुई दिदी र एक दाजुको उचाइ भने औसत नेपालीकै छ । दीपेनको तौल अहिले ११ केजी र उचाइ ३१ इन्च छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दीपेनको नाम लेखाउन अहिले दीपेन शाह फान्डेसन र शिखर नेपालनामक दुई संस्था लागिरहेका छन् ।
हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमा हामी विश्वस्त छौं । -शेखर खनाल, अध्यक्ष शिखर नेपाल
शिखर नेपालका अध्यक्ष शेखर खनाल भन्छन्, ‘हामीले पहिलो चरणमा पठाउनुपर्ने सबै डकुमेन्ट पठाइसकेका छौं । गिनिज रेकर्डले पनि पहिलो चरणको भेरिफिकेसन गरिसकेको छ । अबको तीन महिनामा दीपेनले विश्वका होचा कलाकारको प्रमाणपत्र पाउनेमा हामी विश्वस्त छौं ।’ ‘यो विधामा अहिलेसम्म गिनिज बुकमा कुनै दाबी नै परेको रहेनछ, त्यसैले हामीले नै पाउनेमा निर्धक्क छौं’, खनालले भने ।
खनाल र उनको संस्था शिखर फाउन्डेसनकै पहलमा यसअघि पनि खगेन्द्र थापामगरले गिनिज रेकर्डमा होचा व्यक्तिको प्रमाणपत्र पाएका थिए । ‘उचाइ कम भए पनि प्रस्ट बोली र तीक्ष्ण दिमाग भएकाले पनि दीपेनको दाबेदारीलाई अरूले उछिन्ने सम्भावना छैन । यो उचाइ र शारीरिक बनावट भएको प्रस्ट बोल्ने व्यक्ति पाउन गाह्रो पर्छ’, खनालले भने ।
ललितपुरको डाँफे स्कुलमा कक्षा १० अध्ययनरत दीपेन अहिले स्टेज कार्यक्रमहरूबाट राम्रै कमाइ गरिरहेका छन् । ‘छोराको कमाइबाट सन्तुष्ट छु’, बाबु दीपक भन्छन्, ‘होचो कलाकारका रूपमा विश्व कीर्तिमान रह्यो भने त झन् नेपालकै नाम रहन्छ । यसको पहलमा सहयोग गरिदिनेहरूलाई धन्यवाद छ।’
अभिनय र फिल्मतिर धेरै ध्यान दिएर पढाइमा अलि पछि परेकोमा केही चिन्ता लागे पनि छोराका अरू कुराले आफू सन्तुष्ट नै रहेको बताउँछन् दीपक । ‘दाजुले बिहे नगरेरमात्रै हो नत्र म बिहे गर्ने मुडमा पो पुगेको छु त’, रोमन्टिक बन्दै दीपेनले भने, ‘दाजुको पालो मिच्नु भएन के गर्नु? ’ उनले आफू कसैको प्रेममा परेको सम्म भन्न भ्याए । ‘अहिले नै सबै कुरा खुलाउनु त भएन नि’, उनले भने, ‘गिनिज बुकमा नाम लेखाउन पाए त देशकै नाम हुन्थ्यो । अनि बिहे गर्नुपर्छ ।’

Comments